ग्लोबल आईएमई बैंकको १९औँ वार्षिकोत्सव: सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौं, १८ पुस ।  ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो ।

गएको वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानवीय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा देशभर १८ हजार विरुवाहरु रोप्ने कार्यक्रम घोषणा गरेको थियो ।

गएको वर्ष बैंकले पालिका, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरुको सहकार्यमा वातावरण संरक्षण, जिबिकोपार्जन तथा आयआर्जनमा उपयोगी झन्डै २१ हजार विरुवा रोपण गरेको थियो । १९औँ वार्षिकोत्सवका अवसरमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानविय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिँदै दुर्गम क्षेत्र, गरिव, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरु देशव्यापी रूपमा सञ्चालन गर्नेछ ।

यी कार्यक्रमहरू मध्ये ग्लोबल आइएमई स्वस्थ नारी पहल एक महत्त्वपूर्ण कार्यक्रम हो । जसअन्तर्गत बैंकले सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर ९भीआईए० परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिनेछ । यसरी शिविरको क्रममा प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिनेछ ।

विगत पाँच वर्षदेखि नेपाल परिवार नियोजन सङ्घसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट अहिलेसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन् । त्यसैगरी, बैंकले सात प्रदेशका सात ठाउँमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ ।

गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यो कार्यक्रमले पैसाको अभावमा उपचार नपाएका दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरुको आँखाको समस्याको उपचारमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।

यसका साथै, बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ५ सय गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीहरूको आखाँ जाँच गरी आवश्यक चश्मा निःशुल्क रूपमा वितरण गर्नेछ । त्यसैगरी, बैंकले सात वटै प्रदेशमा स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरी गरिब तथा न्यून आयभएका समुदायलाई स्वास्थ्य सेवा पुर्‍याउनेछ ।

यसका साथै, जटिल तथा दीर्घ रोगका विरामीहरुको उपाचारको लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । पालिका तथा स्वास्थ्य संस्थाको सिफारिसमा बैंकले जटिल रोगको उपचारमा निश्चित रकम सहयोग प्रदान गरिनेछ ।

शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेन्दार छात्राहरूलाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १ सय ४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ जनासहित छात्राहरुमा विस्तार हुनेछ ।

दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, एक हजार जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचारको तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू पनि समावेश छन् ।
त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्याथीलाई एमफील तथा पीएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिनेछ ।

वातावरण संरक्षणतर्फ ‘ग्लोबल ग्रिन स्कूल’ कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाइ तथा फोहोर सङ्कलन केन्द्र स्थापना गरिनेछ । पालिकासँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।

रक्तदान कार्यक्रम मुख्य शहरहरूमा आयोजना गरिनेछ भने आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गरिनेछ । सूचना प्रविधिको विकास र आधुनिक प्रविधिको अबलम्बनसँगै बालबालिकाहरुमा देखा परेको अटिजमको बारेमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी उनीहरुलाई आवश्यक सहयोग प्रदान गरिनेछ ।

त्यसैगरी, स्वस्थ र अनुशासित युवा जनशक्ति निर्माण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदाय तथा विद्यालयमा खेलकुद सामग्री वितरण गर्ने छ । साथै, बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्नेछ । यस उद्यमशाला कार्यक्रमअन्तर्गत गरिब तथा न्यून आय भएका व्यक्तिहरुलाई व्यवसायिक तथा सीपमुलक तालिम प्रदान गर्नेछ ।

बैंकले आफ्ना ३ सय ५२ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै अधिकतम् जनसङ्ख्यालाई बैंकिङ्ग प्रणालीमा समावेश गर्ने कार्यक्रमहरुको आयोजना गर्नेछ ।

यी सबै पहलले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउने र दीर्घकालीन विकासमा योगदान दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  २० : १९  बजे