पुसभित्रमा विशेष महाधिवेशन भएरै छाड्छः गगन थापा

काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुसभित्र विशेष महाधिवेशन भएरै छाड्ने बताउनुभएको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको १५औँ महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित गरेपछि सञ्चारकर्मीमाझ बोल्दै महामन्त्री थापाले पुसभित्रै विशेष महाधिवेशन हुने बताउनुभएको हो ।

अबको एक–दुई दिनमा केन्द्रीय कार्यसमिति बैठकले निर्णय नगरे केन्द्रीय कार्यालयले विशेष महाधिवेशन आयोजना गर्ने उहाले बताउनुभयो । आफूहरूको फरक मतका बाबजुद आजको बैठकले वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको उहाले बताउनुभयो । पार्टीको महामन्त्रीको हैसियतले आफू विधान लागु नभएको कुरा टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभयो । उहाले विशेष महाधिवेशनका लागि काठमाडौँ आउने तयारी गर्न महाधिवेशन प्रतिनिधिलाई निम्तोसमेत दिनुभएको छ । उहाले सञ्चारकर्मीमाझ भन्नुभयो ‘विशेष महाधिवेशनको निर्णय कि केन्द्रीय कार्यसमितिले गर्छ, कि विधानको अधिकार प्रयोग गरेर महामन्त्रीले गर्छ, सबै साथीहरूलाई काठमाडौँमा हुने विशेष महाधिवेशनका लागि तयारी अवस्थामा रहन म अनुरोध गर्छु।’

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  १९ : २५  बजे