काठमाडौं, १८ पुस । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बलले आन्तरिक छानबिन समिति गठन गरेको छ ।सशस्त्र प्रहरी बलले छानबिनका लागि एसएसपी रविनराज कर्णजीतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा कोशी प्रदेशको नं। १ बराह बाहिनी मुख्यालय पकलीका एसपी र सशस्त्रको कानुन महाशाखाका एक डीएसपी सदस्य रहेका छन् ।
यो समितिले घटनाबारे छानबिन गरेर प्रतिवेदन पेश गरेपछि गल्ती देखिएमा विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरी बलले बताएको छ । छानबिन समितिले काम समेत सुरु गरिसकेको सशस्त्र प्रहरीले बताएको छ ।सशस्त्र प्रहरी स्रोतका अनुसार छानबिनका लागि अहिले बोर्डर आउट पोस्ट (बीओपी) कमाण्डर, गुल्म कमाण्ड र गण कमाण्डरलाई बाहिनीमा झिकाइएको छ । लौकही बीओपीका कमाण्डर इन्स्पेक्टर मनिष कुमार कटुवाल, सीमा सुरक्षा गुल्म हरिपुरका कमाण्डर डीएसपी गणेश दत्त पाण्डे र नं. ४ गण सुनसरीका कमाण्डर एस्पी निर्मल कुमार थापा हुनुहुन्छ । उहाब्ँहरु तीनै जनालाई बाहिनी झिकाएर छानबिन अघि बढाइएको हो । बुधबार मध्यराति सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो । लौकही नाकाबाट तीन वटा अटो रिक्सामा चिनी लिएर आएको समूहलाई सशस्त्रले गोली हानेको थियो ।सोही क्रममा साहको मृत्यु भएको हो । सशस्त्र प्रहरीले भने तस्करको समूहले पहिला गोली हानेको र जवाफी कारबाही गर्दा दुर्घटना भएको दाबी गर्दै आएको छ ।यता गोली हान्दाका बेलाका फिल्ड कमाण्डर सशस्त्र प्रहरीका हवल्दार नवराज खतिवडालाई प्रहरीले सोधपुछका लागि बोलाएको छ । उहालाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेले बताउनुभयो। उहाँ बिहीबारदेखि नै प्रहरी कार्यालयमा हुनुहुन्छ ।बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा) अघि बढ्दै थिए ।
लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारको कमाण्डमा पाँच जना ड्यूटीमै थिए । ती अटो रिक्साहरूमा भन्सार छलेर भारतबाट अवैध सामानहरू नेपाल ल्याइएको भन्ने सूचना सशस्त्र प्रहरीले पाएको थियो ।मध्यराति सडकमा सशस्त्र प्रहरीको उपस्थिति देखेपछि तस्करीको सामान ल्याउँदै गरेका रिक्साहरू भाग्न खोजेको सशस्त्रको भनाइ छ । सशस्त्र प्रहरीले पिछा गर्दा रिक्साबाट सशस्त्रतर्फ गोली हानेको दाबी सशस्त्रको छ ।तस्करको समूहबाट मध्यराति गोली चलेपछि सुरक्षाकर्मीले असुरक्षित महसुस गरेर आत्मरक्षाका लागि जवाफी फायर गर्दा दुर्घटना भएको दाबी कोशी प्रदेशको बराह बाहिनी पोकलीका प्रमुख तथा डीआईजी कुमार न्यौपानेको छ । बिहीबार मात्रै मृतक पक्ष र प्रशासनबीच सीडीओ कार्यालयमा सहमति भएपछि शव आफन्तले बुझेका थिए । दुई पक्षबीच पाँच बुँदे सहमति भएको थियो ।








प्रतिक्रिया