सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दार पक्राउ

काठमाडौं, १८ पुस।  सुनसरीको लौकहीमा सफारी चालकमाथि गोली चलाउने एपीएफका हवल्दारलाई पक्राउ गरिएको छ ।उक्त घटना छानबिनका लागि हिजै सुनसरीका सहायक सीडीओ घनश्याम न्यौपाने संयोजक, डीएसपी चन्द्र खड्का र राष्ट्रिय अनुसन्धानका अधिकृत रहेको समिति बनेको थियो ।

भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालक विजय साहमाथि सशस्त्रले गोली चलाएको थियो । उनको तत्कालै मृत्यु भएको थियो । गोली हान्ने हवल्दारलाई हिजै नियन्त्रणमा लिएर अनुसन्धान थालेको सुनसरी प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खड्काले बताउनुभयो । घटनापछि हिजै लौकहीस्थित सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) मा कार्यरत सबैलाई फिर्ता बोलाइएको छ । सुनसरीका सीडीओ वासुदेव घिमिरे छानबिन समितिलाई ७ दिनको म्याद दिएको र प्रतिवेदन आएपछि थप कदम चाल्ने बताउँछन् ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार  १२ : १३  बजे