काठमाडौं, १७ पुस । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ । ‘सशस्त्र प्रहरीले गोली प्रहार गर्दा’ ४५ वर्षीय विजय साहको मृत्यु भएपछि स्थानीय बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका हुन् ।बिहीबार (पुस १७) बिहान करिब १ः१० बजे कोसी–१, पुरी टोलमा तस्करी नियन्त्रणका निम्ति खटिएको सशस्त्र प्रहरी टोलीले गोली चलाएको थियो । साह सोही वडाका स्थायी बासिन्दा थिए ।विरोधमा उत्रिएका स्थानीयले सशस्त्र प्रहरी बिटमा आगजनी गरेका छन् ।
भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर समेत गरेको छ ।सिटी सफारीमा राति तस्करीको समान ल्याइँदै गरेको अवस्थामा रोक्न खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले गोली लागेर साहको मृत्यु भएको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । साहको मृत्युपछि स्थानीयवासीले शव उठाउन अवरोध गरेका छन् । उनीहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाबारे स्थानीयसँग प्रशासनले प्रारम्भिक छलफल थालेको छ ।









प्रतिक्रिया