‘डार्क फाइल’का राजकुमार तिमल्सिना पोखराबाट पक्राउ

काठमाडौं, १६ पुस ।  सिधाकुरा अनलाइनले प्रसारण गरेको फेक अडिओ तयार गर्ने राजकुमार तिमिल्सिना पक्राउ परेका छन्। जेनजी आन्दोलनका दिन भदौ २४ गते केन्द्रीय कारागारबाट भागेका तिमिल्सिनालाई पोखराबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताउनुभयो ।

गएको असोज १३ गते सर्वोच्च अदालतले उक्त अडिओ फेक भएको ठहर गर्दै राजकुमारलाई ६ महिना कैदको फैसला सुनाएको थियो। सोही फैसला अनुसार कैद भुक्तान गरिरहेका उनी जेनजी आन्दोलनका वेला भागेका थिए। जेनजी आन्दोलनपछि फरार भएका उनले सामाजिक सञ्जालमार्फत न्यायाधीशहरूलाई गाली गरिरहेको पाइएको छ। झुटा र काल्पनिक अडिओ उत्पादन गरेर उनले अदालतको अवहेलना गरेको सर्वोच्चका ९ न्यायाधीशको इजलासले ठहर गरेको छ। उनलाई बाँकी कैद भुक्तानका लागि काठमाडौँ ल्याएर कारागार पठाउने प्रहरीको तयारी छ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  २१ : ११  बजे