चिप्लोले दाउन्ने सडक जोखिमपूर्ण, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

पश्चिम नवलपरासी, १६ पुस । नारायणघाट–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर बनेको छ । निर्माणाधीन सडकमा पछिल्लो केही दिनदेखि शीतलहरका कारण सडक सतह अत्यन्तै चिप्लो भएपछि यात्रा जोखिमपूर्ण बनेको हो ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (पश्चिम खण्ड) का अनुसार, हाल उक्त क्षेत्रमा पक्की ढलान र कल्भर्ट निर्माणको काम भइरहेको छ । निर्माण कार्य जारी रहेकै अवस्थामा मौसम प्रतिकूल बन्दा सडकमा हिलो र चिप्लो बढेको हो । सडक चिप्लो भएका कारण विशेष गरी मालवाहक ट्रक, बस र साना निजी सवारी साधनहरू उकालोमा चिप्लिने, हिलोमा अड्किने र बिग्रिने क्रम बढेको छ ।

यसले गर्दा दाउन्ने पहाडमा लामो समयसम्म सवारी जाम हुने र यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । बढ्दो जोखिमलाई मध्यनजर गर्दै आयोजना कार्यालयले सूचना जारी गरी अत्यावश्यक बाहेकका सवारी साधनहरूलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न, सडक प्रयोग गर्नै परेमा अत्यन्तै सावधानी अपनाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न, आग्रह गरेको छ ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार  १४ : २९  बजे