झापामा बालेनको जमानत जफत गर्छौँ– एमाले नेता पाठक

झापा, १० पुस । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताउनुभएको छ । झापा क्षेत्र नम्बर ५ बाट बालेन शाह आगामी फागुन २१ गते निर्वाचन लड्ने चर्चा भइरहेका बेला एमाले नेता पाठकले यस्तो बताउनुभएको हो । सरकारविरुद्ध नेकपा एमाले झापाले बिहीबार झापामा गरेको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद् र अशुभ हुने चेतावनी दिनुभयो ।‘यदि बालेन शाह झापा आउनुभयो र क्षेत्र नम्बर ५ मा चुनाव लड्नुभयो भने उहाँको जमानत जफत हुन्छ’, पाठकको भनाई थियो ।

उहाँले असंवैधानिक सुशीला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छोड्ने गरी एमाले सडकमा आएको भन्दै विदेशी शक्तिहरूको इसारामा देशलाई सिद्ध्याउने खेल स्वीकार्य नहुने र एमालेले संविधान तथा लोकतन्त्रलाई ट्रयाकमा ल्याएरै छोड्ने दाबी गर्नुभयो । पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरूलाई एमालेले तह लगाउने बताउनुभयो । उहाँले संविधान मिच्ने, विदेशीको गतिविधि टुलुटुलु हेरेर नसक्ने बताउँदै खबरदारी गर्नुभएको छ । नेपाली जनतामाथि गिद्धे दृष्टि लगाए प्रतिकार गरेर देखाइदिने चेतावनी दिनुभयो । एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले कानुन बनाउन र हरेक मुद्धाको फैसला गर्न जनताबाट निर्वाचित संसद् पुर्नजिवित गर्नुपर्ने बताउनुभयो । एमालेले झापाको बिर्तामोड र दमकमा एकैदिन सरकारविरुद्ध खबरदारी गरेको हो । बजार परिक्रमा गरेर कोणसभा गरेको हो ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार  २० : २८  बजे