काठमाडौं, १० पुस । वैकल्पिक शक्ति निर्माणको छलफलमा जुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वान टू वान वार्ता सुरु भएको छ ।बालेन समूहका सहयोगी कुमार बेनको कुपण्डोलस्थित घरमा वार्ता सुरु भएको हो ।
यसअघि सोही ठाउँमा बालेन र कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य सुनील शर्माबीच छलफल भएको थियो । छलफलबाट बाहिरिने क्रममा कांग्रेस नेता शर्माले प्रतिनिधिसभा पुनर्स्थापना भए के हुन्छ भन्नेबारेमा आफूले बालेनसँग छलफल गरेको बताउनुभएको छ ।अहिले रवि लामिछानेले सोही ठाउँमा बालेनसँग वार्ता थाल्नुभएको छ । रविका साथमा असिम शाह, गणेश कार्की पनि त्यहाँ पुग्नुभएको छ । तर, वार्तामा उनीहरू भने सहभागी छैनन् ।वैकल्पिक अभियान चलाइरहेका सागर ढकाल, जेनजी आन्दोलनपछि चर्चामा आएका हामी नेपाल नामका अध्यक्ष सुदन गुरुङ पनि त्यहाँ पुग्नुभएको छ । यसअघि सोमबार राति पनि रवि र बालेनबीच लामो समय छलफल चलेको थियो ।
रास्वपा नेता शाहको कमलपोखरीस्थित घरमा भएको छलफलमा यसपटक सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व आफूले गर्ने प्रस्ताव रविले राखेका समाचार सार्वजनिक भएका थिए ।अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । यिनै सेरोफेरोमा केन्द्रित रहेर दुई नेताबीच छलफल चलेको नेताहरूले बताएका छन् ।बालेनले आजै बिहान पनि ऊर्जामन्त्री कुलमान घिसिङलगायतका व्यक्तिसँग छलफल गरेका थिए ।









प्रतिक्रिया