कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, ९ पुस ।  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरूलाई बोलाइएको छ ।
बैठकमा यही पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको १५औँ राष्ट्रिय महाधिवेशनको तयारी तथा क्रियाशील सदस्यता वितरणमा अलमल भइरहेको विषयमा छलफल हुनेछ । नयाँ क्रियाशील सदस्यता वितरणमा भएको विलम्वका कारण महाधिवेशन केही समय धकेलिन सक्ने संकेत देखिएको छ । आजको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा पनि छलफल हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  ०८ : २१  बजे