काठमाडौँ, ८ पुस । जेन–जी घटना जाँचबुझ आयोगले तीन जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ।तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्विकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था सोमबार फुकुवाको निर्णय गरिएको हो ।
आयोगको सचिवालयले मंगलबार गृह मन्त्रालयलाई पत्र लेख्दै अनुसन्धानको सिलसिलामा रोक्का गरिएको उनीहरूको विदेश भ्रमण र उपत्यका बाहिर जाने अनुमति फुकुवा गरिएको जानकारी गराएको हो।आयोगका उपसचिव कमल प्रसाद पाण्डेका अनुसार उनीमाथि भइरहेको छानबिन र सोधपुछको कार्य सम्पन्न भइसकेको छ।पत्रमा भनिएको छ, ‘पूर्व निर्णय उपरको कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२/०९र०७ मा निर्णय भएको छ।’’
भाद्र २३ र २४ गते घटेका घटनाहरूको अनुसन्धानका क्रममा आयोगले यसअघि २०८२ असोज १२ र कात्तिक २७ गतेको बैठकबाट उनीहरूलाई आयोगको अनुमति बेगर काठमाडौं उपत्यका छाड्न र विदेश जान रोक लगाउने निर्णय गरेको थियो। आयोगले सोमबारको बैठकबाट उक्त रोक हटाउने निर्णय गरेको हो। आयोगले यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र सम्बन्धित व्यक्तिहरूलाई समेत दिएको छ।









प्रतिक्रिया