संसद पुनःस्थापनाको पक्षमा जसपा, जनमत र स्वतन्त्र गरी तीन सांसदले पनि गरे हस्ताक्षर

काठमाडौं, ७ पुस ।  जेनजी आन्दोलनपछि विघटित प्रतिनिधि सभा पुनःस्थापनाका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीका सांसदले पनि हस्ताक्षर गरेका छन्। साथै एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन्। सोमबार कांग्रेसले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाउने क्रममा उनीहरूले पनि हस्ताक्षर गरेका हुन्।कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार हस्ताक्षर गर्नेहरूमा जसमाकी सांसद हसिना खान, जनमतकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन्।कांग्रेसले आफ्नो ६५ जना सांसद र ३ जना अन्य सांसद गरी ६८ जनाको हस्ताक्षर सरकारी वकिलको कार्यालयमार्फत सर्वोच्चमा पठाएको छ।यससँगै प्रतिनिधि पुनस्स्थापनाका पक्षमा हस्ताक्षर गर्ने सांसदको सङ्ख्या १४३ पुगेको छ। यसअघि एमालेका ७५ जना सांसदले अदालतमा हस्ताक्षर बुझाइसकेका छन्।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  १७ : ३२  बजे