महाधिवेशन सकिएलगत्तै ईश्वर समूहले छुट्टै भेला गरेकोमा प्रदीप ज्ञवालीको असन्तुष्टि

काठमाडौँ, ७ पुस । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले पार्टीको महाधिवेशन सम्पन्न भएलगत्तै ईश्वर पोखरेल पक्षले छुट्टै भेला गरेकोप्रति असन्तुष्टि जनाउनुभएको छ। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता ज्ञवालीले महाधिवेशनपछिका केही दृश्यले ‘आँखा बिझाएको’ टिप्पणी गर्नुभएको हो।

नेता ज्ञवालीले महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको स्मरण गराउँदै त्यसको फैसलालाई अन्तिम नमान्ने हो भने पार्टी ‘अन्त्यहीन बहस क्लब’ मा रूपान्तरित हुने चेतावनी दिनुभयो । केही नेताहरुले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि प्रश्न उठाएका कारण नै एक वर्ष अगावै महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै उहाँले भन्नुभएको छ, ुमहाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनः अनुमोदित गरेको छ ।

अब पनि महाधिवेशन पूर्वकै ‘ब्यागेज’ बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ‘प्रतिवाद’ र ‘खोक्रो एकता’ जस्ता गतिविधिमा लाग्नुको कुनै अर्थ नभएको उहाँको तर्क छ । तीन महिनाको छोटो अवधिमा पार्टीलाई लयमा फर्काएको दाबी गर्दै ज्ञवालीले अबको सम्पूर्ण ऊर्जा लोकतन्त्र बहाली, संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको यात्रामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । यसैगरी, नेता ज्ञवालीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्ने आशयको अभिव्यक्ति दिएको भन्दै आश्चर्य प्रकट गर्नुभएको छ। पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो, ज्ञवालीले लेख्नुभएको छ,आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  ०७ : ५९  बजे