हर्क साम्पाङको श्रम संस्कृति पार्टीका अर्का एक उपाध्यक्ष पनि कारबाहीमा

काठमाडौं, ६ पुस । हर्क साम्पाङले नेतृत्व गर्नुभएको श्रम संस्कृति पार्टीका अर्का एक उपाध्यक्ष पनि कारबाहीमा पर्नुभएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा आयोजित सभामा भएको घटनालाई लिएर उपाध्यक्ष डा. मित्र परियारमाथि कारबाही गरिएको जानकारी दिनुभएको हो ।

शनिबार बुटवलको ट्राफिक चोकमा पार्टीले आयोजना गरेको सभामा अध्यक्ष साम्पाङ सहित उपाध्यक्ष डा. परियारले पनि सम्बोधन गर्नुभएको थियो । सोही कार्यक्रममा आयोजक समितिप्रति सार्वजनिक रूपमा असन्तुष्टि जनाउँदै अपमानजन्य अभिव्यक्ति दिएको आरोपमा डा. परियारमाथि कारबाही गरिएको अध्यक्ष साम्पाङले जनाउनुभएको छ ।

अध्यक्ष साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ,‘श्रम संस्कृतिमा कोही सानो, कोही ठुलो हुँदैन, आज उपाध्यक्षले बुटवलका आयोजकलाई गर्नुभएको अपमान र सहसंयोजक प्रति प्रयोग गरिएको अपमानजन्य बोलीका कारण पार्टी आचारसंहिता उल्लङ्घन भएकोले नसच्चिएसम्म कारबाही गरिएको जानकारी गराउँदछु, जय सुशासन ।’

सभामा उद्घोषकले सम्बोधनका लागि आग्रह गरेपछि मञ्चमा पुग्नुभएका उपाध्यक्ष डा. परियारले कार्यक्रम आयोजकको व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । ‘कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ,’ उहाँले भन्नुभएको थियो,‘ध्यान यता र मन उता हुन सक्दैन, म केन्द्रीय उपाध्यक्ष हुँ, म पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोडिनु हुँदैन ।’

डा. परियारले आफूलाई प्रमुख अतिथिभन्दा अगाडि बोल्न नदिइएको भन्दै आयोजकप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाउनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्यपछि प्रमुख अतिथिको रूपमा पार्टी केन्द्रीय अध्यक्ष साम्पाङले सम्बोधन गर्नुभएको थियो । अध्यक्ष साम्पाङको सम्बोधनपछि टीका लगाउने तथा पार्टी प्रवेशको कार्यक्रम सुरु भएको थियो । सोही क्रममा उद्घोषकले उपाध्यक्ष डा. परियारलाई सम्बोधनका लागि आमन्त्रण गर्नुभएको थियो ।

तर उहाँले सम्बोधन सुरु गर्दा सहभागीहरूको ध्यान अध्यक्ष साम्पाङसँग टीका लगाउने र तस्बिर खिच्नेतर्फ केन्द्रित भएपछि डा. परियार आक्रोशित देखिनुभएको थियो । उहाँले आफू दुई दिनदेखि बुटवलमा बसेर पार्टीका गतिविधिमा सक्रिय रूपमा संलग्न भएको उल्लेख गर्दै कार्यक्रमको सेड्युल नमिलेको जस्तो लागेको बताउनुभएको थियो ।

‘म सम्बोधन गर्न चाहन्छु, तर सेड्युल नमिलेको जस्तो लाग्यो, यसमा यहाँको जिल्ला टिम र आयोजक समितिले आत्मसमीक्षा गरोस् भन्ने म क्यामरामै अनुरोध गर्न चाहन्छु,’ उहाँले भन्नुभएको थियो ।

सभामा आक्रोश व्यक्त गर्नुका साथै सम्बोधनपछि आयोजक समितिका सहसंयोजक प्रति अपशब्द प्रयोग गरिएको जानकारी आएपछि अध्यक्ष साम्पाङले यसलाई पार्टी आचारसंहिता उल्लङ्घनको रूपमा लिँदै कारबाही गरिएको स्पष्ट पार्नुभएको छ । यसअघि पनि श्रम संस्कृति पार्टीका अर्का उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा) कारबाहीमा परिसक्नुभएको छ ।

विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेपछि पार्टीले उहाँमाथि कारबाही गरेको थियो । लगातार उपाध्यक्षस्तरका नेतामाथि कारबाही हुन थालेपछि श्रम संस्कृति पार्टीभित्र आन्तरिक अनुशासन, नेतृत्व शैली र निर्णय प्रक्रियाबारे प्रश्न उठ्न थालेका छन् ।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार  १५ : २८  बजे