काठमाडौं, ६ पुस । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताउनुभएको छ । संस्कृतिभित्रका कतिपय हानिकारक प्रथा हटाउँदै जानुपर्ने भए पनि आफ्नो मौलिक परम्परा र भेषभूषा भने नछाड्न नहुनेमा जोड दिनुभएको छ ।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले उक्त कुरा बताउनुभएको हो । परिषद्का प्रतिनिधिहरू गुरुङ संस्कृतिअनुरूपका परम्परागत वेशभूषामा उपस्थित हुनुभएको थियो । उहाँहरूको भेषभूषाको प्रशंसा गर्दै प्रधानमन्त्रीले सरकारी कार्यालयमा पनि हप्तामा एक दिन भए पनि कर्मचारीहरूले आफ्नो परम्परागत पोशाक लगाउँदा उचित हुने धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कतिपय समाज अहिले आफ्नो पहिचानको खोजीमा छन् । ‘आधुनिकताका नाममा आफ्नो मौलिकता बिर्संदै गएको पाइन्छ । आफ्नो पहिचान नै के हो भन्ने उनीहरूलाई थाहा छैन । तर हामी नेपालीसँग प्रशस्त आफ्नोपन छ । विविध मौलिक संस्कृति र परम्परा छ । यो जोगाउनुपर्छ । बरू सरकारी कार्यालयमा हप्तामा एक वा दुई दिन यस्तो पोशाक लगाउने व्यवस्था गर्ने विषयमा पनि सोच्नुपर्ने हो कि ?’, प्रधानमन्त्री कार्कीले भन्नु भयो ।
त्यसअवसरमा परिषद्का महासचिव राजु गुरुङले प्रधानमन्त्रीलाई यही पुस १५ गते आयोजना हुने तमु ल्होसारसम्बन्धी विशेष कार्यक्रमा सहभागी हुन आमन्त्रण गर्नुभयो ।








प्रतिक्रिया