चुनाव बिथोल्ने काम नगर्न प्रचण्डको खबरदारी

काठमाडौं, ५ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनाव बिथोल्ने काम नगर्न सबै पक्षलाई खबरदारी गर्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा आज आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले अबको निकासका लागि चुनाव नै विकल्प भएको बताउनुभयो ।

पूर्वदेखि पश्चिमसम्मको एकता सन्देश सभाका क्रममा नागरिक पनि चुनावका लागि तयार भइरहेको पाएको भन्दै प्रचण्डले राजनीतिक दल पनि चुनावको तयारीमा जुटिरहेका उल्लेख गर्नुभयो ।कांग्रेसले पनि चुनावमा जाने संस्थागत निर्णय गरिसकेको अवस्थामा दोहोरो चरित्र नदेखाइ चुनावको प्रक्रियालाई अघि बढाउने काममा अघि बढ्न संयोजक प्रचण्डले एमालेलाई पनि आग्रह गर्नुभयो ।त्यस्तै सम्बोधनका क्रममा नेकपाका सह–संयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरू इमानदारिताका साथ अघि बढेको दाबी गर्नुभयो । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका एक दर्जन बढी वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा आयोजना गरेका सन्देश सभा अन्तर्गत आजको सभा अन्तिम हो । नेकपाल दिउँसो भृकुटीमण्डमा सभा शुरू हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली र जुलुस निकालेको थियो । नेकपाले यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकता सन्देश सभा गरेको थियो ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार  १७ : ३४  बजे