एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यासः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं, ५ पुस  । पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीले अवलम्बन गरेको ‘जनताको बहुदलीय जनवाद’ (जबज)को मार्गदर्शनमा आन्तरिक लोकतन्त्र, सामूहिक नेतृत्व र सङ्गठनात्मक एकतालाई अझ सुदृढ बनाउँदै पार्टीलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेको राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र ‘जबज’को जीवन्त अभ्यास भएको उल्लेख गर्नुभएको छ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक र आवश्यक प्रक्रिया भएको स्पष्ट पार्दै यसले संस्थालाई थप सुदृढ र जीवन्त बनाउने दाबी समेत गर्नुभएको छ । उहाँले तेस्रो पटक पार्टी अध्यक्षमा निर्वाचित भएका केपी शर्मा ओलीसहित नवनिर्वाचित अन्य पदाधिकारीहरू, केन्द्रीय कमिटीका सदस्यहरू तथा विभिन्न आयोगका सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

एमालेको पूर्वउपाध्यक्ष समेत रहनुभएकी भण्डारीले महाधिवेशनमा विचार, निष्ठा र पद्धतिप्रति प्रतिबद्ध रहँदै प्रतिस्पर्धामा सहभागी भएका सम्पूर्ण नेता तथा कार्यकर्ताप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ । साथै, महाधिवेशनमा सहभागी सम्पूर्ण प्रतिनिधिहरू, पर्यवेक्षकहरू तथा महाधिवेशन सफल बनाउन अहोरात्र खटिएका स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू र कलाकारप्रति पनि उनले धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार  १२ : १९  बजे