काठमाडौं, ५ पुस। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको हो । बिहान ११ः३० बजे सुनधारा, नयाँ सडक चोक र शान्ति बाटिकामा जुलुस जम्मा हुनेछन् । सबै जना एकीकृत भएपछि दिउँसो सवा १२ बजेबाट जुलुस सुरु हुने छ ।जुलुसको नेतृत्व दोस्रो तहले गर्नेछन् । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभा भृकुटीमण्डपको तीनकुने सडकमा हुनेछ । कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १२ वटा वामपन्थी घटक मिलेर नेकपा बनाएका थिए । पार्टी एकता सन्देश दिनका लागि नेकपाले मंसिर १२ गतेदेखि सातै प्रदेशमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै आएको थियो ।
18
Shares








प्रतिक्रिया