चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको छ : प्रधानमन्त्री कार्की

काठमाडौं, ५  पुस । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ । सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको दाबी गर्नुभएको छ ।नवयुवा आन्दोलनपछि गएको भदौ २७ गते बनेको नयाँ सरकारको एक सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको छ । नवयुवाहरुलाई आफ्नो आक्रोश र सपना चुनावमा मतपत्रमार्फत व्यक्त गर्न प्रधानमन्त्री कार्कीको आग्रह छ ।

आउँदो फागुन २१ गतेको चुनावलाई परिवर्तनको ढोका उघार्ने एक राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न र राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजान समेत उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

चुनावले राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने प्रधानमन्त्रीको विश्वास छ । चुनावका लागि सरकारले आफ्नोतर्फबाट सम्पूर्ण तयारी पूरा गरेको र सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।‘एकीकृत निर्वाचन सुरक्षा योजना’ स्वीकृत भइसकेको र नेपाली सेनाको परिचालन सुनिश्चित गरिएको प्रधानमन्त्री कार्कीले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई आवश्यक ६ अर्ब ७३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको र मतदाता नामावली ऐनमा संशोधन गरी चुनावको मिति घोषणापछि पनि ८ लाख ३७ हजार नयाँ युवालाई मताधिकार सुनिश्चित गरेको बताउनुभयो । साथै, क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मार्फत काम थालिएको उहाँको भनाइ छ ।प्रधानमन्त्री कार्कीले सरकारको एक सय दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको दाबी गर्नुभएको छ ।

उहाँले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत र अवाञ्छित सुविधा कटौती गरेर नागरिकले तिरेको कर जोगाइएको बताउनुभयो ।मापदण्डविपरीत खटिएका ५ सय सुरक्षाकर्मी र गाडी फिर्ता गरी नागरिकको सेवामा परिचालन गरिएको, अनावश्यक ३८ वटा कार्यालय खारेज र ३ सय २३ वटा दरबन्दी कटौती गरेर राज्यको व्ययभार घटाइएको प्रधानमन्त्री कार्कीको भनाइ छ । यस्तै ‘हेलो सरकार’ मार्फत ५० हजारभन्दा बढी गुनासा सम्बोधन गरिएको, राष्ट्रिय प्रसारण लाइनमा १ सय १ मेगावाट विद्युत थपिएको प्रधानमन्त्री कार्कीले बताउनु भएको छ ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार  ०८ : २७  बजे