काठमाडौं, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले पार्टीभित्र विरोध गर्नुपर्ने कुनै कामै नगर्ने जिकिर गरेका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै विरोधीहरूले ओलीको विरुद्ध बोल्नै पाइँदैन भनेर उल्क्याउन गरेको बताउनुभयो । उहाँले प्यानल बनाएर चुनाव लडेको भएपनि हिजोबाट गुट सकिएको बताउनुभयो ।
ओलीको भनाइ
हाम्रो पार्टी महान अभिभारा बोकेको छ । त्यत्तिकै दृढ अनुशासन र अनुशासन, विचार र अनुशासनमा बाँधिएको एकताका साथ हामी अगाडि बढ्छौै । उल्क्याउँछन् त्यहाँ त कोही बोल्नै पाउँदैन, एमालेमा कोही बोल्नै पाउँदैन, त्यहाँ केपी ओलीको अधिनायकवाद चल्छ, तानाशाही चल्छ, कसैले आँखामा आँखा जुधाएर बोल्नै सक्दैन, हेर्नै सक्दैन यस्ता हल्ला चलाउँछन् ।आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् यस्ता कुरा गर्छन् । नत्र ती विरोधमा बोलिहाल्थे नि, खै केपी ओलीको विरोधमा बोलेका ? केपी ओलीले विरोध गर्नुपर्ने कुनै कामै गर्दैन त के भनेर विरोध गर्ने ? उनीहरूले त्यसो भन्छन् ।
लिडरसिपप्रति अनास्था जगाउनका लागि, पार्टी एकतामा खलल पुर्याउनका लागि त्यस्ता उचाल्ने कुराहरू गर्छन् । यस्ता कुराहरूबाट हामी प्रभावित हुनु हुँदैन । यसतर्फको आवाज बोकेर पनि प्रतिनिधि आएका छन् भन्ने हल्ला चलाउँछन् ।
हिजो चुनावमा लड्दा प्यानल भएर पनि लडियो होला । स्वतन्त्र भएर पनि लडियो होला । कुन प्यानल भयो, कुन स्वतन्त्र भयो, के भयो, त्यो हिजो नै परिणाम आउनसँगै सिद्धियो । अब एमालेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटीमा हामी छौँ र यो केन्द्रीय कमिटी यो प्यानल र त्यो प्यानल होइन, एमालेको देश हाँक्ने केन्द्रीय कमिटी हो, यो एकजुट छ, एकढिक्का छ । यो पक्ष छैन, उ पक्ष छैन, यो प्यानल छैन, उ प्यानल छैन ।
यही भावना र दृढताका साथ हामी अगाडि बढ्छौँ । देश अप्ठ्यारो अवस्थामा छ । यो अप्ठ्यारो अवस्थालाई सजिलो अवस्थामा पुर्याउने अभिभारा हाम्रो पार्टीको काँधमा छ ।








प्रतिक्रिया