सरकारले सकेदेखि निर्वाचनको तयारी गरोस्, नत्र बाटो लागोस् : केपी ओली

काठमाडौं, ३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनावको तयारी गर्न आग्रह गर्नुभएको छ । पार्टी अध्यक्ष पदमा पुनः निर्वाचित भएपछि आज आयोजना गरिएको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले चुनाव गराउन नसक्ने भए र सकार आफ्नो बाटो लाग्नु पर्ने बताउनुभयो ।

‘म सरकारलाई सचेत गराउन चाहन्छु, सकेदेखि निर्वाचनको तयारी गरोस्, सक्दैन भनेदेखि बाटा लागोस्’, उहाँले भन्नुभयो । ओलीले राजनीतिक दलहरूलाई पनि देशको परिस्थिति प्रति गम्भीर हुन आग्रह गर्नुभयो । उहाँले दलहरूलाई देश र संविधानको पक्षमा उभिन आग्रह गर्नुभयो ।

अहिले सरकारले संविधान हेरफेर गर्ने भनेर अनधिकृत रूपमा केही युवा बोलाएर सम्झौता गरेको भन्दै उहाँले एमालेले त्यसलाई अस्वीकार मात्र होइन खारेज गर्ने उहाँले बताउनुभयो । सरकारले गरेको यो काम भद्दा मजाक भएको ओलीको धारणा छ ।

ओलीले एमालेलाई नजिस्क्याउन पनि सरकारलाई चेतावनी दिनुभयो । उहाँले एमालेलाई छोएको दिन देश ठप्प हुने र सरकार पनि ढल्ने बताउनुभयो । उहाँले त्यसको तयारीमा लाग्न पार्टीका नेताहरूलाई निर्देशन दिनुभयो ।

‘एमाले नेतृत्व माथि छोएका दिन देश ठप्प हुनु पर्दछ, यो सरकार ढल्नु पर्दछ, ढालिने छ, एमालेलाई छुनु महँगो पर्दछ’, उहाँले भन्नुभयो । उहाँले फरक प्रसङ्गमा पाटी पार्टी मिलेर एकीकरण होइन कोही एमालेको विचार र सिद्धान्त मान्छ भने एमालेमा आउने आग्रह गर्नुभयो ।

एमाले नीति, नाम र सान कायम राख्ने उहाँको धारणा छ । माओवादी नाम प्रचण्डलाई घाँडो भएको र माधव नेपाललाई पार्टी नै घाँडो भएकोले दुई एकअर्कामा विलय भएका उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार  १९ : ३५  बजे