एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज

काठमाडौं, ४ पुस । नेकपा (एमाले) को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बसेको छ । बैठक दिउँसो १ बजे बस्ने भनिएको बैठक एक घण्टा सारिएको थियो । बैठक काठमाडौंको कार्की ब्यांक्वेटमा बसेको हो । ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम बिहीबार सम्पन्न भइसकेको छ।

शपथपछि पार्टीको नयाँ कार्यकाल औपचारिक रूपमा सुरु भएको मानिएको छ । आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल भएको छ ।

साथै, पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन् । एमालेको ११ औँ महाधिवेशनले ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ । नयाँ नेतृत्व र केन्द्रीय संरचनासँगै पार्टीलाई आगामी राजनीतिक चुनौतीहरू सामना गर्न थप सशक्त बनाउने दिशामा आजको बैठकलाई महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  १६ : ०१  बजे