काठमाडौं, ४ पुस । नेकपा (एमाले) का नेता विष्णु रिमालले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन गरिमा, उत्साह र सामूहिक उपलब्धिको अनुभूतिसहित असाधारण रूपमा सम्पन्न भएको बताउनुभएको छ ।
महाधिवेशनपछि आज सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया व्यक्त गर्दै उहाँले नेतृत्व चयन प्रक्रियामा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखिएको उल्लेख गर्नुभयो । रिमालका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तावित टिम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भएको थियो ।
उक्त टिममा एक जना उपमहासचिव स्वयं रिमाल र एक जना उपाध्यक्ष गुरु बराल बाहेक सबै पदाधिकारी निर्वाचित भएका छन् । यस परिणामलाई स्वाभाविक र लोकतान्त्रिक अभ्यासको अङ्गका रूपमा लिनुपर्ने बताउँदै उहाँले भन्नुभएको छ, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय, यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्।’
जनताको बहुदलीय जनवादको मूल भावनाबाट पार्टी निर्देशित रहेको उल्लेख गर्दै रिमालले प्रतिस्पर्धालाई आत्मसात गर्दै नेतृत्वको म्यान्डेट प्राप्त गर्ने प्रक्रिया नै एमालेको शक्ति भएको धारणा राख्नुभएको छ । ‘पहलकदमी लिनु, प्रतिस्पर्धालाई आत्मसात गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु हाम्रो राजनीतिक अभ्यास हो,’ उहाँको भनाइ छ ।
महाधिवेशनको परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरिएको जनाउँदै रिमालले पार्टीभित्र औपचारिक भूमिका परिवर्तन भए पनि साझा संकल्प र कमरेड्ली भावना यथावत् रहेको स्पष्ट पार्नुभयो ।









प्रतिक्रिया