भारतीय राजदूत श्रीवास्तव आईसीयूमा, मुटुको देब्रे नशामा ‘हर्टअट्याक’

काठमाडौं, २८ मंसिर । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । श्रीवास्तवलाई काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा अत्यधिक दुखाइ भएको थियो ।

स्वास्थ्य अवस्था बिग्रँदै गएपछि तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी धापासीस्थित ग्रान्डी अन्तरार्ष्ट्रिय अस्पतालमा पुर्याइएको थियो । चिकित्सकका अनुसार छातीको दुखाइ दिउँसो साँढे एक बजेतिर देखिएको थियो । तर उहाँलाई उद्धार गरेर ग्रान्डी ल्याउँदा ४ बजेको थियो ।

प्रारम्भिक उपचारपछि थप जाँच गर्दा हृदयघात भएको पुष्टि भएको थियो । मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएको थियो । चिकित्सकका अनुसार श्रीवास्तवको तत्काल मुटुको एन्जियोग्राफी गरी अवरुद्ध नशामा स्टेन राखिएको छ । चिकित्सकका अनुसार उहाँ होसमै अस्पतालमा आइपुग्नुभएको थियो ।

प्रारम्भिक स्वास्थ्य जाँचमा हृदयघात भएको देखिएको हो । राजदूत श्रीवास्तव अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिन आईसीयू निगरानीमा राखिने अस्पतालले जनाएको छ । मुटुमा अन्य केही नशामा पनि अवरोध देखिएको र ती अवरोधहरूलाई आवश्यकता अनुसार पछि उपचार गरिने चिकित्सकले जानकारी दिनुभयो ।

चिकित्सकका अनुसार अहिले उहाँको स्वास्थ्यअवस्था सामान्य बन्दै गएको छ ।

 

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  १७ : ४०  बजे