एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं, २८ मंसिर । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नु भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उहाँहरूले आगामी नेतृत्व चयन प्रक्रियामा आफूहरू प्रतिस्पर्धामा नउत्रिने स्पष्ट पार्नुभएको हो ।

पार्टी नेतृत्व नवीकरण, पुस्तान्तरण र सङ्गठनात्मक एकताको पक्षमा रहेर यस्तो निर्णय लिइएको उहाँहरूको भनाइ छ । केन्द्रीय कमिटी बैठकमा नेताहरूले उहाँहरूको निर्णयले पार्टीभित्र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने र महाधिवेशनलाई सहमतिमुखी बनाउने अपेक्षा व्यक्त गर्नुभएको हो ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा जारी छ । महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाइने छ । ११औँ महाधिवेशनको बन्द सत्रबाट विधान संशोधन पारित भएसँगै नयाँ संरचना अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्ने एमालेले जनाएको छ ।

प्रकाशित मिति: २८ मंसिर २०८२, आइतबार  १६ : ३६  बजे