काठमाडौं, २५ मंसिर । नेकपा एमालेका बागमती प्रदेश सांसद आनन्द श्रेष्ठले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दाबी गर्नुभएको छ। विद्यार्थी राजनीति हुँदै जिल्ला पार्टी नेतृत्व गरेका श्रेष्ठ महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य ‘डेब्यु’ गर्ने घोषणा गर्नुभएको छ। विचार, अनुशासन र नेतृत्व क्षमतामा अब्बल रहेका युवा नेताका रुपमा परिचित श्रेष्ठ जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको लागि महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।
संस्थापन निकट श्रेष्ठले महाधिवेशनले पार्टी र राष्ट्रलाई अगाडि बढाउन स्पष्ट अडान, निर्णय क्षमता, राष्ट्रियता, सुशासन, विकासजस्ता मुद्दालाई अगाडि बढाउन सक्ने नेतृत्व चयन गर्ने बताउनुभयो । २०६६ सालमा जिल्ला कमिटी सदस्य निर्वाचित भएका श्रेष्ठ एमालेको सातौं जिल्ला अधिवेशनबाट रामेछापमा सचिव निर्वाचित हुनुभएको थियो। सचिव रहेकै समयमा नेकपा विभाजन भएर एमालेका शीर्ष नेता प्रचण्ड–माधव समूहमा लागेपछि संकटका बेला श्रेष्ठ अध्यक्ष बनेर जिल्लाको बागडोर सम्हालनुभएको थियो ।
श्रेष्ठ आठौं जिल्ला अधिवेशनमा सर्वसम्मत अध्यक्ष बन्नुभएको थियो । उहाँको कार्यकालमा आक्रमक रुपमा संगठन विस्तार भएको थियो। जिल्लाको पार्टी राजनीतिमा लाग्नु अगाडि नै श्रेष्ठ विद्यार्थी आन्दोलनमा सक्रिय र युवा–विद्यार्थीमाझ लोकप्रिय हुनुहुन्छ । एमालेको भातृसंगठन अनेरास्ववियुको प्रारम्भिक कमिटी हुँदै बागमती अञ्चल अध्यक्ष, केन्द्रीय सदस्य हुँदै सचिवालय कमिटीमा काम गरेका श्रेष्ठले विद्यार्थी आन्दोलनलाई अगाडि बढाउनुभएको थियो । विद्यार्थी राजनीतिबाट आएका श्रेष्ठ नेपाल कमर्स क्याम्पस मीनभवनका पूर्व स्ववियु सभापति हुनुहुन्छ । काठमाडौंमा अनेरास्ववियुको विद्यार्थी जीवन र स्ववियूको जिम्मेवारी पूरा गरेपछि जिल्ला गएर श्रेष्ठ पार्टीको काममा खटिनुभएको थियो । विद्यार्थी राजनीतिमा हुँदा होस् या पार्टीको संगठनात्मक संरचना मजबुत बनाउँदै आन्तरिक विवादहरू संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने भूमिकामा उहाँ अब्बल हुनुहुन्छ।
अनुभवी नेतृत्वको मार्गदर्शन जोगाएर युवाहरूलाई निर्णय, सत्ता संरचनामा सार्थक ठाउँ दिने वातावरण तय गर्नुपर्ने उहाँको भनाई छ। महाधिवेशनबाट केन्द्रीय कमिटीमा नयाँ अनुहार प्रवेश हुनुपर्नेमा जोड दिनुभयो। ‘एमालेमा लामो समयदेखि केन्द्रीय कमिटीमा रहेका धेरै नेताहरू हुनुहुन्छ। अब कि माथिल्लो पदमा जाने आँट गर्नुपर्छ, नत्र जाम खुलाउनुपर्छ।’ उहाँले भन्नुभयो, ‘अग्रज नेतृत्वलाई सम्मान गर्दै सल्लाहकारको भूमिकामा राख्नुपर्छ। क्लष्टर छुट्याएर युवासहित नयाँ अनुहारलाई समेत समेटेर अगाडि बढ्नुपर्छ। चुनाव जित्न मात्र होइन, विकल्प दिन सक्ने क्षमतावान र अडान लिनसक्ने नेतृत्व चाहिन्छ। आगामी केन्द्रीय कमिटी अग्रज र युवा समेटिएको समावेशी बन्नेछ।’ लोकतान्त्रिक पार्टीमा महाधिवेशनको समयमा वैचारिक र एवंम् राजनीतिक मतभेद देखिनु सामान्य भएको बताउनुभयो ।
पार्टीभित्र उत्पन्न भएका मतभेदहरूलाई आन्तरिक लोकतन्त्र, संवाद र सहकार्यको संस्कृतिबाट समाधान गर्दै एकता मजबुत बनाएर लैजाने क्षमता भएको नेतृत्व पार्टीमा भएको उहाँको विश्वास छ। पार्टी र जनताबीच पुलको भूमिका निर्वाह गर्ने र विकास–नागरिक आवाज उठाउने काममा श्रेष्ठको जोड दिने प्रवृत्ति देखिन्छ।








प्रतिक्रिया