काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि झाँक्री प्रकाश भुजेलले दिएको बयान अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा छ। भेटपछि बाहिरिएका भुजेलका ती टिप्पणीहरू उनी समर्थक हुन् वा होइनन् भन्ने बहससँगै राजनीतिक वृत्तमा पनि चर्चा भइरहेको छ।
भुजेलले भेटपछि भने, “मलाई झोले भनेर धेरैले गाली गर्लान, तर म डराउँदिन। सत्य बोल्नेलाई गाली त आइहाल्छ। तर मेरो बुझाइमा ओलीजस्तो राष्ट्रनायक राजनेता फेरि नेपालमा जन्मिँदैन।”
उनका अनुसार, नेतृत्व क्षमताको मूल्यांकन गर्दा भावनाभन्दा काम र परिणाममुखी दृष्टिकोण महत्वपूर्ण हुन्छ। उनले थपे, “नेपालले जे–जस्तो चुनौती सामना गरिरहेको छ, त्यस्तो स्थितिमा दृढ निर्णय गर्न सक्ने नेता दुर्लभ हुन्छन्। त्यसैले मैले देखेको र बुझेको नेतृत्वलाई खुलेर प्रशंसा गरेको मात्र हुँ।”
भुजेलले आफू कुनै दलको आधिकारिक कार्यकर्ता नभएको स्पष्ट पार्दै सामाजिक सञ्जालमा देखिने ‘लेबलिङ’ संस्कृतिप्रति असन्तुष्टि पनि व्यक्त गरे। “स्वतन्त्र नागरिकले बोल्यो भने पनि तत्काल झोले, दलको मान्छे, बाधक भन्दै गाली आउँछ। तर विचार राख्न पाउनु नागरिकको अधिकार हो,” उनले भने।
उनका यी अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। एकथरले भुजेलको साहसिक अभिव्यक्ति भन्दै समर्थन गरेका छन् भने अर्काथरले यसलाई राजनीतिक मोहको परिणाम भनेर आलोचना गरेका छन्।
यद्यपि, भुजेलको उक्त बयानले पुनः एकपटक नेतृत्व, लोकप्रियता र नागरिक अभिव्यक्तिसम्बन्धी बहसलाई ताताएकाे छ।









प्रतिक्रिया