डिशहोमद्वारा नेपालमै पहिलो दुईतर्फी नेपाली भोइस–एआई “खुशी” सार्वजनिक

काठमाडौं, २२ मंसिर । डिशहोमले नेपालमा पहिलो पटक दुईतर्फी नेपाली भाषामा संवाद गर्न सक्ने उन्नत भोइस–एआई सेवा “खुशी” सार्वजनिक गरेको छ। निरन्तर प्रविधि–आधारित नवप्रवर्तन गर्दै आएको डिशहोमले यसअघि भर्चुअल प्रिभिलेज कार्डमार्फत २०० भन्दा बढी साझेदार व्यवसायमा छुट सुविधा प्रदान गर्दै आएको थियो।

यस्तै, डिशहोमले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ लाई आफ्नै ओटीटी प्लेटफर्म ‘डिशहोम GO’ मार्फत प्रत्यक्ष प्रसारण गरी एकैपटक दुई लाखभन्दा बढी दर्शकलाई सेवा उपलब्ध गराउँदै उल्लेखनीय सफलता हात पारेको थियो।

नयाँ एआई सेवा “खुशी” ले निष्क्रिय ग्राहकलाई पुनःनवीकरणका लागि सम्पर्क गर्ने, आवश्यक अफरहरू प्रस्तुत गर्ने, गुनासो र सुझाव सङ्कलन गर्ने तथा संवादकै आधारमा भावनात्मक विश्लेषण गर्ने क्षमता राख्छ। साथै, नेटवर्कमा प्राविधिक समस्या आएको अवस्थामा अवरोधको जानकारी, समाधान समय र प्रगति विवरण ग्राहकलाई तुरुन्तै उपलब्ध गराउन सक्षम छ।

आगामी चरणमा “खुशी” मार्फत ग्राहक विवरण प्रमाणीकरण, जडान तथा मर्मतसम्बन्धी समय तालमेल, साथै फेसबुक मेसेंजर, वेबच्याट, व्हाट्सएप र भाइबरमा समेत सेवा विस्तार गरिनेछ। नेपाली भाषामा एआई क्षमताको स्तर बढाउन डिशहोमले अन्तर्राष्ट्रिय एआई संस्थासँग सहकार्य गर्दै दीर्घकालीन परियोजना सुरु गर्ने तयारी पनि गरेको छ।

डिशहोमका अनुसार “खुशी” को आगमनले ग्राहक सेवा प्रणालीलाई अझ डिजिटल, छरितो र मानवीय शैलीअनुकूल बनाउँदै नेपालमा एआई प्रविधिको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड स्थापित गर्नेछ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार  १९ : १८  बजे