हाम्रा माग पुस २ गतेभित्र माग सम्बोधन नगरे चुनाव हुँदैन–दुर्गा प्रसाईं

काठमाडौं, २२ मंसिर । नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले आफूहरूका माग आउँदो पुस २ गतेभित्र पूरा नगरे फागुनमा तय भएको चुनाव समेत नहुने चेतावनी दिनुभएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्तामा क्रममा उहाँले यस्तो बताउनुभएको हो । व्यवस्था परिवर्तन लगायत आफ्ना माग पूरा नभए चुनाव समेत नहुने उहाँले बताउनुभएको छ । आफूहरूलाई चुनाव नचाहिएको समेत प्रसाईंले बताउनुभयो ।

वार्तामा प्रधानमन्त्रीले आफूहरूका मागबारे सकारात्मक धारणा राखेको दाबी गरेका प्रसाईंले प्रधानमन्त्री कार्कीले नै पुस २ गतेसम्मको समयसीमा दिएको उल्लेख गर्नुभयो । ‘हाम्रा मागबारे मज्जासँग सुन्नुभयो । तपाईंका माग भनेका जनजीविकोपार्जनसँग सम्बन्धित माग हुन्,सबै कुरा अध्ययन गर्छु, सबैसँग सल्लाह गर्छु । म एकदम सकारात्मक छु भन्नुभएको छ’, वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले भन्नुभयो, ‘पुसको २ गते हामी निर्णय दिन्छौं भन्नुभएको छ । तपाईंले भनेजस्तै निर्णय दिन्छौं भन्नुभएको छ । २ गते प्रधानमन्त्रीले निर्णय दिनुभएन भने चुनाव हुँदैन भनेर मैले भनेको छु, हामीलाई चुनाव चाहिएको छैन ।’ प्रसाईंले वर्तामान व्यवस्था ठीक छ छैन भन्नेबारे जनमत संग्रह गर्नुपर्ने माग राख्नुभएको छ । उहाँले जनताले यही व्यवस्थालाई माने आफूले पनि स्वीकार्ने बताउनुभयो । प्रसाईंले २०६२÷०६३ सालको जनआन्दोलनको उद्देश्य संघीयता र धर्मनिरपेक्षता ल्याउने तथा राजसंस्था फ्याँक्ने नहरेको पनि दाबी गर्नुभएको छ । उहाँले आफूले नेपाल र नेपाली जोगाउनका लागि धेरै हण्डर–ठक्कर खाएर यी माग उठाएको उल्लेख गर्नुभयो । आफ्ना माग सुनाउनका लागि ८ महिना जेल बस्नुपरेको समेत प्रसाईंको भनाइ छ । वर्तमान सरकारले आफूहरूका मागबारे चासो राखेर वार्तामा बोलाएको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद समेत दिनुभयो ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार  १९ : ०८  बजे