काठमाडौं, १९ मंसिर । लमजुङको बेंसीसहर नगरपालिका–२, भकुण्डेमा पूर्व प्रहरी हवल्दार ४६ वर्षीया सीता कँडेलको हत्या गरी फरार प्रतिवादीलाई प्रहरीले ७ महिनापछि पक्राउ गरेको छ । चितवनको साविक बछौली गाविस–१ (हाल रत्ननगर नगरपालिका–६) का ४७ वर्षीय बुद्धिराम दराईलाई भारतबाट नेपाल आउँदै गर्दा सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको लमजुङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले दराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले सीमावर्ती क्षेत्र रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, बेलहिया सडकखण्डबाट बिहीबार पक्राउ गरेको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पक्राउ परेका दराईलाई सार्वजनिक गरेको छ । उनलाई जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा शुक्रबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।कँडेलको हत्यापछि दराई फरार भएकोमा लमजुङ जिल्ला अदालतले २०८२ वैशाख १५ मा उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । अनुसन्धानका क्रममा उनी यसबीचमा नयाँदिल्लीमा सुरक्षा गार्डमा कार्यरत रहेको समेत खुलेको प्रहरीले जनाएको छ ।गत चैत ३१ गते दिउँसो कँडेलको घरबाट दुर्गन्ध फैलिएको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । बाहिरबाट ताल्चा लगाइएको घरभित्र प्रवेश गर्दा उनी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार सुत्ने कोठामा रहेको बक्स पलङको बिस्तारामुनि त्रिपालले बेरिएको अवस्थामा शव भेटिएको थियो ।दराईविरुद्ध २०६७ मंसिर १२ गते गोरखाको साविक फिनाम गाविस(५ की ५३ वर्षीया चिनीमाया पाण्डेको हत्या अभियोगमा २०६८ असार २० गते गोरखा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो ।
उक्त मुद्दामा सर्वोच्च अदालतले २०७१ चैत १३ गते १२ वर्षको कैद फैसला गरेकोमा दराई २०७६ असोज ३ गते धादिङ कारागारबाट छुटेका थिए ।प्रहरीका अनुसार गोरखाबाट चितवन कारागार सरेपछि दराई र कारागारका सुरक्षाकर्मी कँडेलबीच भेट भएको थियो । दराई बिरामी भएको बेला कुरुवा बसेकी कँडेल नजिक भएकी थिइन् । कँडेल सेवाबाट निस्किएपछि दराईलाई लमजुङ कारागारसमेत सारिएको थियो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार दराई र कँडेलबीच आर्थिक लेनदेनको विषय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूबीचको थप सम्बन्ध अनुसन्धापछि खुल्दै जाने उनले बताए । ‘थप अनुसन्धानका लागि म्याद थप भएको छ, हामीले अनुसन्धान थालेका छौं,’ उनले भने ।२०८१ चैत १२ गते दराई कँडेलको दाइको घरमा आएर बसेपछि चितवन–लमजुङ गरिरहेका थिए । चैत २६ गते बिहान कँडेलको हत्यापछि दराई बेंसीसहर आएको र त्यसको भोलिपल्ट डुम्रेतर्फ गएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यसपछि दराई वैशाख २ गते राति चितवनको आँपटारी हुँदै भारत गएका थिए ।








प्रतिक्रिया