प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक सकियो

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठक सकिएको छ । बालुवाटारमा शुक्रबार भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकाय र राजनीतिक दलका नेताहरुको सहभागिता थियो । छलफलमा निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग निर्वाचन तयारीमा दलहरु र सरकारले सोचेभन्दा निकै अघि बढेको ब्रिफिङ गरेका थिए । त्यस्तै सुरक्षा निकायले पनि निर्वाचनलाई असर पार्ने सुरक्षा थ्रेटको पहिचान गरिसकेकोले सन्देह नगर्न आग्रह गरेको थियो ।

प्रधानमन्त्री कार्कीले २१ फागुनमा निर्वाचन गर्न सरकार पछि नहट्ने अवस्थामा रहेको भन्दै दलहरुसँग सहयोग माग्नुभयो । बैठकमा एमाले, कांग्रेस, रास्वपा र राप्रपासहितले निर्वाचनमा भाग लिन आफूहरु तयार रहेको तर सुरक्षा र भयरहित रुपमा मतदान गर्ने अवस्था बनाउन माग गरेका थिए ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार  २० : १५  बजे