काठमाडौं, १९ मंसिर । एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले अहिलेको अवस्थामा केपी ओलीको नेतृत्वविना एमाले अघि बढ्न नसक्ने बताउनुभएको छ।प्रेस चौतारीले शुक्रबार दिउँसो काठमाडौँमा गरको पत्रकार सम्मेलनमा उहाँले अहिलेको परिस्थितिमा ओलीको विकल्प खोज्नु नहुने बताउनुभएको हो । उहाँले एमालेलाई एकतावद्ध गर्न पनि ओलीलाई निरन्तरता दिनुपर्ने तर्क गर्नुभयो । ‘विधान महाधिवेशनले पनि ओलीको नेतृत्वको निरन्तरताको सन्देश दिएको छ,’ थापाले भन्नुभयो, ‘सोही म्यान्डेटअनुसार ११ औँ महाधिवेशनले नेतृत्व चयन गर्नुपर्छ।’ उहाँले विभिन्न पक्षले गरिरहेको उम्मेदवारी घोषणाले एमालेलाई विघटन र विसर्जनतिर लैजाने दाबी गर्नुभयो। ‘प्रतिस्पर्धाको नाममा एकताविरुद्ध जानु हुँदैन। एकतावद्ध भएर ओलीकै नेतृत्वमा जानुपर्छ। आम जनता र कार्यकर्ताको चाहना पनि यही हो,’ थापाले भन्नुभयो ।
उहाँले अहिलेको अवस्थामा पार्टी र देशलाई आफ्नो भूमिका पनि आवश्यक रहेको दाबी गर्नुभयो । ‘अध्यक्षमा ओलीको निरन्तरतामा मेरो पनि स्थान होस् भन्ने चाहना मेरो छ। पार्टीलाई एकतावद्ध गर्दै एमालेलाई अघि बढाउन पनि यो जरुरी छ,’ बादलले भन्नुभयो । टोपबहादुर जेलबाट मुक्त भएपछि पार्टीले अर्को निर्णय लिने तर, अहिले उहाँ कुनै पदमा नरहने थापाले बताउनुभयो। ‘यो महाधिवेशनबाट माओवादी पृष्ठभूमिका कमरेडहरूको निरन्तरता हुने छ। नयाँ पनि आउनु हुन्छ। सबै पृष्ठभूमिकाको निरन्तरतामा अबको नेतृत्व हुनुपर्छ,’ थापाले भन्नुभयो । उहाँले एमालेको विधानअनुसार २५१ सदस्यीय केन्द्रीय समिति र १५ सदस्यीय पदाधिकारीको व्यवस्था भए पनि त्यसलाई विस्तार गर्न सकिने बताउनुभयो। ‘सबैलाई समेट्नको लागि भए पनि विधान संशोधन गरेर पदाधिकारी बढाउनु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो । त्यसो गर्दा माओवादी पृष्ठभूमिका नयाँ नेता कार्यकर्ता पनि एमालेमा आउन सक्ने दाबी उहाँले दावी गर्नुभयो । जेनजी आन्दोलनलाई विदेशीले चलाएको ‘कलर रिभ्योल्युसन’ को संज्ञा दिँदै उहाँले यो सरकारलाई पहिलो बधाइ दलाई लामाले दिएको बताउनुभयो ।
अब बन्ने संसद्ले एसपीपी पास गर्ने दावी पनि उहाले गर्नुयभो। ‘त्यो सन्धी (एसपीपी) पास गर्ने बित्तिकै पश्चिमा सैन्य बल नेपाल आउनेछ। यो सबै योजनाअनुसार नै जेनजी आन्दोलन भएको हो,’ उहाँको दाबी थियो। बंगलादेशमा शेख हसिनाले राम्रै काम गरे पनि उहाँलाई त्यही ढंगले हटाइएको तर्क थापाले गर्नुभयो। पाकिस्तान र श्रीलंका पनि त्यस्तै भएको उहाले बताउनुभयो । पश्चिमाहरूले श्रृंखलावद्ध रुपमा विश्वभर जेनजी आन्दोनल गरिएको र सरकार विघटन गराउने काम गरिरहेका दाबी उहाँले गर्नुभयो। ‘पश्चिमाहरूले कांग्रेस, एमाले, माओवादी सबैमाथि आक्रमण गरिरहेका छन्,’ थापाले भन्नुभयो । चुनाव भएर नयाँ सदन र सरकार बनेपछि त्यो सरकारले एसपीपी पास गर्ने भन्दै उहाले त्यसो नगरे अबको निर्वाचनपछि बन्ने सरकार पनि पश्चिमाहरूले उल्टाउने दाबी उहाँको थियो।
केपी ओलीमाथि मुद्दा लगाएर सिध्याउने, कांग्रेस र माओवादीका नेतालाई पनि मुद्दा लगाएर सक्ने योजनामा उनीहरू लागेको तर्क थापाले गर्नुभयो । यसले नेपालको राष्ट्रिय अखण्डता र अस्थित्वमै खतरा उत्पन्न गरिरहेको थापाले बताउनुभयो । अहिले एमाले एक्लो जस्तो देखिए पनि भोलि एमाले फेरि उठ्ने दाबी पनि उहाँले गर्नुभयो । ‘हामीमाथि चौतर्फी आक्रमण गरे पनि एमाले फेरि उठ्ने छ। भारतीय नाकाबन्दीपछि एमाले अगाडि आएजस्तै फेरि पनि आउने छ,’ उहाँले भन्नुभयो । एमालेमा ओलीको नेतृत्व नहुने बित्तिकै पार्टी विभाजन हुने र त्यसले प्रतिक्रान्तिलाई फाइदा गर्ने थापाले बताउनुभयो । उहाँले भर्खरै गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई एमालेमा समाहित हुन आग्रह गर्नुभयो । ‘राजनीति र वैचारिक मतभेद छैन भने नेकपा किन चाहियो ?’ प्रश्न गर्दै उहाँले भन्नुभयो ‘नेकपाको नाममा १० कोठे घर किन बनाउनु पर्यो ? उहाँहरु यतै मुल घरमा आउनुपर्छ। या त उहाँहरूले मूल घरमा फर्किने या त विघटनमा जाने हो, अरु विकल्प छैन।’








प्रतिक्रिया