क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा

काठमाडौं, १७ मंसिर । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छ्न् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा उनलाई पक्राउ गरिएको हो । अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

प्राधिकरणले भक्तपुरको नलिन्चोकमा आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा अनियमितता भएको विषयमा पनि उजुरी परेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ । नलिनचोकमा हेलिप्याड निर्माणको औचित्यमाथि पनि प्रश्न उठ्दै आएको छ ।

प्राधिकरणले वातावरणीय प्रभाव मूल्यांकन नगरी हेलिप्याड निर्माण गरेको समेत उजुरीमा उल्लेख थियो । हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेका थिए ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  १४ : ३२  बजे