मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

काठमाडौं, १७ मंसिर ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । हिजो पत्रकार सम्मेलन गर्दै उहाँले आज दिउँसो २ बजे विश्वासको मत लिन लागेको जानकारी गराउनुभयो ।मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वास मत लिन भने पनि आफूले परमादेशको पत्र हिजो दिउँसो ३ बजे मात्र प्राप्त गरेको हुँदा त्यही आधारमा विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्रसमेत पठाइसकिएको बताउनुभयो । अदालतको फैसलाअनुसार प्रक्रिया अघि बढ्ने र विश्वासको मत आफूले नै पाउने उहाँको दाबी छ ।

अस्ति सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको थियो । प्रदेशसभा सचिवालयले भने विश्वासको मतका लागि आज विहान ८ बजे नै बैठक तोकेको छ । यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा ९एमाले० संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।अन्य दलले बहुमतका आधारमा सरकार बनाउन आग्रह गरे पनि तत्कालीन प्रमुख सुमित्रा भण्डारीले यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसमा विवाद उत्पन्न भएपछि प्रदेश प्रमुख भण्डारीलाई सङ्घीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गर्नुभएको थियो ।मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ जना सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा सर्वोच्च अदालतले यसअघि पनि दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रकाशित मिति: १७ मंसिर २०८२, बुधबार  ०७ : ४२  बजे