विराटनगर विमानस्थलमा प्रचण्डलाई गाली गरेको आरोपमा एक पक्राउ

विराटनगर, १६ मंसिर । विराटनगर विमानस्थलमा नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहालमाथि चर्को स्वरमा गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।नेकपाको विराटनगरमा आयोजित सन्देशसभा सकेर फर्कने क्रममा विमानस्थल परिसरमा सोमबार साँझ एक युवकले प्रचण्डलाई गाली गर्दै बर्बराइरहेका थिए । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार, मादक पदार्थ सेवन गरेर ती व्यक्तिले प्रचण्डलाई गाली गरेको सूचनापछि पक्राउ गरिएको हो ।प्रहरीले भने यस विषयमा औपचारिक जानकारी दिएको छैन ।

यद्यपि प्रहरी स्रोतका अनुसार, प्रचण्डसँगै बुद्ध एयरको जहाजमा काठमाडौं जाने तयारीमा रहेका उदयपुरका अनुपबहादुर बस्नेत पक्राउ परेका हुन् ।उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा राखिएको छ । विमानस्थलमा प्रचण्डलाई देखेपछि ती व्यक्तिले ‘तपाईं प्रचण्ड होइन ?’ भन्दै प्रश्न गरेका थिए । ती व्यक्तिलाई प्रचण्डले ‘हो’ भनेर जवाफ दिनुभएको थियो । त्यसपछि ती व्यक्तिले ‘मेरो घर जलायौ, केही गर्न सकेनौ’ भनेको प्रहरी स्रोतले बतायो ।

प्रचण्ड हिजो साँझ ७ बजे काठमाडौं फर्कने टिकट थियो । फ्लाइट डिले हुने भएपछि उहाँको टिकट ४ः२० बाट पौने ७ बजेका लागि टिकट सारिएको थियो । प्लेन डिले भएपछि विमानस्थलमा पर्खने क्रममा प्रचण्डमाथि ती व्यक्तिले आफ्नो असन्तुष्टि राखेका थिए । नेकपाका नेता तथा तत्कालीन नेकपा माओवादी केन्द्र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले भने प्रचण्डसँग ती व्यक्तिले चर्को स्वरमा बोलेको मात्रै बताउनुभयो । ‘ती व्यक्तिले मेरो घरमा आगो लगायौ भनेपछि पीएसओले साइड लगाएको रहेछ,’ उहाँले भन्न्न, ‘अलिक चर्को स्वरमा बोलेछन्, दुर्व्यवहार गरेको होइन ।’

 

 

प्रकाशित मिति: १६ मंसिर २०८२, मंगलबार  ०८ : १६  बजे