श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

काठमाडौं, १५ मंसिर । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत श्रीलङ्का सरकार र त्यहाँका नागरिकप्रति समवेदना प्रकट गरेको हो । नेपाल सरकारले ज्यान गुमाउनेका परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ ।ऐक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनःस्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ । यस दुःखद् घटनाबाट पुनःउठ्ने क्रममा श्रीलङ्का नागरिकको अदम्य साहस, शक्ति र धैर्यतामा नेपाल सरकार तथा नेपाली नागरिक विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार  ०९ : १२  बजे