जाँचबुझ आयोगमा रविको बयान–जेलबाट निस्कँदा जेलरलाई भेटिनँ, पत्रबारे थाहा छैन

काठमाडौं, २० कात्तिक । पूर्वगृहमन्त्री रवि लामिछानेले आफू कारागारबाट बाहिर निस्कनासाथ सार्वजनिक भएको पत्रबारेमा आफूलाई केही थाहा नभएको बयान दिनुभएको छ । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठन भएको आयोगमा पुगेका उनले सबैतिर भीडभाड र हुलदंगा भएपनि कारागारकै सुरक्षाकर्मी र कर्मचारीले आफूलाई रास्वपाका कार्यकर्ताहरूको जिम्मा लगाएर पठाएको बयानका क्रममा बताउनुभएको छ । कारागारबाट बाहिर निस्कने बेलासम्म आफूलाई पत्रबारेमा कुनै जानकारी नभएको भन्दै उहाँले पछिमात्रै त्यसबारे जानकारी पाएको जिकिर समेत गर्नूभयो । ‘कारागार प्रशासनले नै मलाई परिवार र रास्वपा नेताहरूको जिम्मा लगाएर छाडेको हो’ रविले बयानमा भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘उहाँले आफू निस्कने बेलामा जेलरलाई नभेटेको भन्दै त्यस्तो अवस्थामा अरु केही पनि थाहा नभएको बयान दिनुभएको छ ।’खजाँचबुझ आयोगले नख्खु कारागारका जेलसँग पनि सोधपुछ गरेको थियो । सो क्रममा उहाले जाँचबुझ आयोगका सदस्यहरूसँग ‘आदेश’ आएपछि पत्र बनाएको बताएको स्रोतले बताएको छ । तर, उहाँले क–कसको आदेश आएको भन्नेचाहीँ बयानका क्रममा खुलाउनुभएको थिएन । जेनजी आन्दोलनको भोलिपल्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं कार्यकर्ताहरू नख्खु कारागार गएर त्यहाँ रहेका सभापति रवि लामिछानेलाई बाहिर निकालेका थिए । त्यसक्रममा जेलरले तयार पारेको भनिएको पत्र पनि सार्वजनिक भएको थियो ।

 

प्रकाशित मिति: २१ कार्तिक २०८२, बिहिबार  ०८ : २०  बजे