काठमाडौं, २० कात्तिक । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय श्रृङ्खलाको सबै खेलमा नेपाल पराजित भएको छ । अन्तिम खेलमा हिजो नेपाली टोली यूएईसँग ४ विकेटले पराजित भयो ।
नेपालले दिएको २ सय ४० रनको लक्ष्य युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर भेट्टायो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३९ रन बनाएको थियो । श्रृङ्खलामा नेपालले अमेरिका र यूएईसँगका समान दुई वटा खेल गुमाएको थियो । नेपाल पहिलो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो ।
यस्तै अमेरिकासँग पहिलो खेलमा १ सय ६ रन र दोस्रो खेलमा ४ विकेटले पराजित भएको भएको थियो । हिजोको खेलमा नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन जोडे । त्यस्तै कुशल मल्लले ४५, दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ रन बनाए । युूएईका लागि जुनैद सिद्दीकी, मोहम्मद जवादुल्लाह र ध्रुव परासरले समान २–२ विकेट लिए । व्याटिङतर्फ यूएईका मोहम्मद शहदादले सर्वाधिक ९६ रन बनाए ।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने नन्दन यादव, ललितनारायण राजवंशी र सन्दीप लामिछानेले समान १–१ विकेट लिए । यो हारसँगै २० खेलमा १२ अङ्क जोडेको नेपाल अंकतालिकाको सातौँ स्थानमा पुगेको छ । जितसँगै यूएई समान खेलबाट १० अङ्कसहित अन्तिम स्थानमा छ । २४ खेलमा ३६ अंकसहित अमेरिका तालिकाको पहिलो स्थानमा छ ।








प्रतिक्रिया