लोखरममा तीन जनामा हैजा पोजेटिभ

काठमाडौं, १७ कात्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरममा झाडापखाला प्रभावित क्षेत्र तीन जनामा हैजा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय सप्तरी र गाउँपालिकाको स्वास्थ्यकर्मीको टोलीले नौ जनाको पखालाको आरडिटी परीक्षण गर्दा तीन जनामा हैजा पोजेटिभ देखिएको हो ।यद्यपी, यो रिपोर्ट पूर्ण विश्वासिलो नभएकाले थप जाँचका लागि माथिल्लो निकायमा पठाइएको स्वास्थ्य संयोजक दिपेन्द्र यादवले बताउनुभयो । उहाँले आरडिटीले शत प्रतिशत हो नै भन्न सकिँदैन ,तर थप रिपोर्ट नआएसम्म हो नै मानेर काम गर्नुपर्ने बताउनुभयो ।जाँचपछि आइतबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले तत्काललाई प्रभावित क्षेत्रलाई आइसोलेट गर्ने निर्णय गरेको छ । त्यहाँ स्वास्थ्यकर्मी खटाइने र पूर्ण रिपोर्ट नआएसम्म सबैलाई सावधानी अपनाउन जनचेतना फैलाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो ।लोखरमको मुसहर बस्तीमा झाडापखाला लागेर एकै परिवारको तीन जनाको मृत्यु भएको थियो । त्यसपछि यो कुरा बाहिरिएको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार  ०७ : ५२  बजे