काठमाडौं, १५ कात्तिक । गएको भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा धादिङको धुनिवेंशी घर भइ काठमाण्डौ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाण्डौ महानगरपालिका–१५ भगवानपाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन देउला, भारत मोतिहारी सीतामढी घर भइ काठमाण्डौ–१५ ट्राफिक कार्यालय नजिक डेरा गरी बस्ने २४ वर्षीय अकबर खान, काठमाण्डौ–१५ बिजेश्वरी रिट्रीट अपार्टमेण्ट नजिक बस्ने २६ वर्षीय सुमिन शाक्य तथा काठमाण्डौ–३१ बानेश्वर घर भइ क्षेत्रपाटी चोकमा कपडा पसल सञ्चालन गरी बस्ने ३८ वर्षीय प्रभात मल्ल रहेका छन् ।जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार जेनजी प्रदर्शनको क्रममा सुरक्षाकर्मीको हातहतियार पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेकामध्ये गुरुङ कार्यालयबाट पेस्तोल लुटपाटमा संलग्न, देउला, खान र शाक्य हतियार खरिद तथा बिक्री वितरणमा संलग्न तथा प्रभात मल्ल हतियार खरिदमा संलग्न रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा काठमाण्डौ जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
                            12                        
Shares
                    
                    
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                
            






प्रतिक्रिया