१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि फेरि छानबिन हुने

काठमाडौं, १२ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १९ वटा देशबाट अमेरिका गएका स्थायी बसोबास अनुमति प्राप्त व्यक्तिहरूमाथि फेरि छानबिन गर्ने निर्णय गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआइएस) का प्रमुख जोसेफ एड्लोले राष्ट्रपति ट्रम्पले हरेक आप्रवासीको आवास अनुमति कडाइका साथ फेरि परीक्षण गर्न निर्देशन दिएको बताउनुभएको छ ।यो सूचीमा अफगानिस्तान, क्यूबा, हाइटी, इरान, सोमालिया, भेनेजुएला लगायतका देश रहेका बीबीसीले जनाएको छ ।

यो घोषणा वासिङ्टन डीसीमा अस्ति बुधबार दुई जना राष्ट्रिय सुरक्षाबल (नेशनल गार्ड) का सदस्यमाथि भएको गोलीकाण्डपछि आएको हो । त्यो घटनामा आरोपित रहमानुल्लाह लाकानवाल सन् २०२१ मा अमेरिकाले अफगान नागरिकका लागि बनाएको विशेष आप्रवासन कार्यक्रम अन्तर्गत गएका थिए ।राष्ट्रपति ट्रम्पले यस घटनाले ‘राष्ट्रको ठूलो सुरक्षा जोखिम’ प्रस्ट भएको टिप्पणी गर्नुभएको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख एड्लोले सामाजिक सञ्जालमार्फत अमेरिकी नागरिकको सुरक्षा नै सबैभन्दा पहिला रहेनको भन्दै अघिल्लो बाईडन प्रशासनका लापरबाहीपूर्ण पुनर्वास नीतिको मूल्य अब अमेरिकाले तिर्नुनपर्ने बताउनु भएको छ ।गोलीकाण्डपछि राष्ट्रपति ट्रम्पले कडा प्रतिक्रिया दिँदै अघिल्लो प्रशासनले अज्ञात र जाँच–पड़ताल नगरी २ करोडभन्दा धेरै मानिसलाई देशभित्र ल्याएको बताउनुभएको छ । यसैबीच, अस्तिदेखि नै अफगान नागरिकका सबै आप्रवासन मागपत्रहरूको प्रक्रिया स्थगित गरिएको छ ।

प्रकाशित मिति: १२ मंसिर २०८२, शुक्रबार  ०७ : ५८  बजे