काठमाडौं, ८ मंसिर। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई सचिवालयमा नियुक्ति दिलाएको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बद्ध स्रोतका अनुसार, नेपाल सरकारको सचिव सरहको सुविधा लिएका आदर्शले पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाउनुभएको हो । स्रोतका अनुसार, नातेदार कमला श्रेष्ठ पनि स्वकीय सहसचिवमा नियुक्त भएका छन् । संगीता र कमला दुवै एकै दिन अर्थात् असोज २ गते नियुक्त हुनुभएको हो । सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उहाँहरूको नियुक्ति भएको हो । नासु सरहको प्रशासन सहायकमा पुनम श्रेष्ठ र रविना श्रेष्ठ पनि त्यही दिन नियुक्त भएका थिए । आदर्श स्वयं सर्वोच्च अदालतको सूचना प्रविधि महाशाखामा करारमा कार्यरत कर्मचारी थिए । उनी सुशीला कार्की प्रधानन्यायाधीश हुँदा पनि सर्वोच्च अदालतमा कार्यरत थिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले संगीता आफ्नी पत्नी रहेको स्वीकार समेत गर्नुभएको छ । प्रधानमन्त्रीको सचिवालय संवेदनशील ठाँउ भएकाले प्रधानमन्त्रीको विश्वास र गोप्यताका लागि नजिकको मानिस नियुक्त गरेको र त्यसक्रममा आफ्नो पत्नी चयन भएको उहाँले स्वीकारे गर्नुभएको छ ।
यसैवीच जेनजी युवा नेता रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठलाई पदमुक्त गर्न र उहाँले परिवारका सदस्य तथा नातेदारहरुलाई दिलाएको नियुक्ति खारेज गर्न माग गर्नुभएको छ ।
‘यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ,’ रक्षा बमले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जेनजी विद्रोह रकमको भ्रष्टाचार बिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद विरूद्ध पनि थियो ।’ उनले ‘भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं । तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोहकै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ ’ लेख्नुभएको छ । रक्षा बमले अन्त्यमा लेख्नुभएक, ‘आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस् । नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नु हुँदैन । सरकार बेलैमा सचेत होओस् ।’









प्रतिक्रिया