अध्यक्ष ओलीको चेतावनी– सरकारले अराजकता र लुटपाटलाई प्रश्रय दियो, एमालेलाई निषेध गरे सह्य हुँदैन

काठमाडौं, ६ मंसिर  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने बताउनुभको छ । एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै उहाँले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाउनुभयो । जेनजीका नाममा केहि व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले बारामा नियोजित रुपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै एमालेलाई निषेध गर्ने क्रम जारी रहे सह्य नहुने चेतावनी दिनुभयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सरकारको नाटक मात्रै भएकाले निर्वाचन हुन्छ भनेर भ्रम पाल्न नहुने उहाँले बताउनुभयो। उहाँले दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोको यथार्थका बारेमा प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने भन्दै प्रसाईंलाई गिरफ्तार गरेर यथार्थबाट भाग्न नमिल्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले एमाले देशको सबैभन्दा लोकप्रिय र देशभक्त पार्टी भएको भन्दै कसैको धम्की वा घेराबन्दीबाट नडराउने स्पष्ट पार्नुभयो । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध सुरु गरेको जनपरिचालन कार्यक्रम अन्तरगत शनिबार काठमाडौंमा जनसभाको आयोजना गरेको हो।

 

प्रकाशित मिति: ६ मंसिर २०८२, शनिबार  १८ : ४४  बजे