बञ्चरेडाँडाका पीडितले आजदेखि फोहोर रोक्ने, मन्त्री कुलमानले ढाँटेको आरोप

काठमाडौं, ३ मंसिर । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटका स्थानीयले फेरि अवरोध गर्ने घोषणा गरेका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङको प्रतिबद्धता जनाएपनि माग पूरा नभएको भन्दै बञ्चरेडाँडाका स्थानीय बासिन्दाले बुधवारदेखि फोहोर विसर्जनमा पूर्ण रूपमा रोक लगाउने घोषणा गरेका हुन् । १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकोमा सो अवधिभित्र कुनै काम नभएपछि पुनः फोहोर विसर्जन रोक्न बाध्य भएको उनीहरूको भनाइ छ । ककनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष घननाथ बजगाईँले मन्त्री कुलमान घिसिङले केवल आश्वासन दिएको र वास्तविक समस्या समाधानमा कुनै चासो नदिएको आरोप लगाएका छन् । फोहोरमैला व्यवस्थापनको लागि दीर्घकालीन समाधानको लागि संघर्ष गर्दै आएका स्थानीय आफ्ना माग पूरा नभएको भन्दै लामो समयदेखि पटकपटक आन्दोलित हुँदै आएका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०८२, बुधबार  ०७ : ३३  बजे