बागमती, कोशी र गण्डकीका पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली

काठमाडौं, ३० कात्तिक । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली छ । तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज पनि तराईका थोरै ठाउँमा हुस्सु लागेको महाशाखाका मौसमविद् डेभिड ढकालले बताउनुभयो । देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ । देशभर तापक्रम घट्न थालेसँगै चिसो बढेको छ ।

आज बिहान पौने ५ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९।२ डिग्री सेल्सियसमा झरेको छ । हिजो बिहान पौने ९ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९।२ डिग्री सेल्सियस नै रहेको थियो ।

त्यसअघि न्यूनतम तापक्रम ९।६ डिग्री सेल्सियस रहेको थियो । देशका अरू ठाउँमा पनि तापक्रम घट्दै गएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ३।६ डिग्री सेल्सियस मापन भएको छ ।

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  ०७ : ५०  बजे