संसद् पुनर्स्थापनाको पक्षमा एमालेले देशभर देखायो शक्ति

काठमाडौं, २९ कात्तिक। संसद् पुनस्र्थापना र सर्वपक्षीय सरकार माग्दै एमालेले आज देशभर शक्ति प्रदर्शन गरेको छ। संसद् विघटन र सरकार गठनलाई ‘प्रतिगामी षडयन्त्र’ भन्दै एमालेले जनपरिचालनसहित जिल्लाका सदरमुकाम र ठूला शहरमा जनसभा गरेको हो। सभाका लागि नेपालगन्ज पुग्नुभएका महासचिव शंकर पोखरेलले एमाले सङ्कटबाट नभागी त्यसको सामना गर्ने बताउनुभयो।

एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट विचलित हुनु नहुने बताउनुभयो । मुलुकलाई संकटबाट उकास्न आफ्नो दल सक्षम रहेको बताउनुभएको छ । एमाले जनताको रोजाइमा पहिलो पार्टी बनिसकेको बताउदै एमालेलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्ने अभियानमा लागेको बताउनुभयो । उहाँले वर्तमान संकटबाट उकास्न सबै लोकतन्त्रवादी एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो । यसैवीच उपाध्यक्ष रामबहादुर थापा बादलले सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ मा गर्ने भनेको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिने गर्न रचिएको ‘हनी ट्र्यापिङ’ भएकोले ठूला र स्थापित दलहरू यस्तोमा पर्न नहुने बताउनुभएको छ । चितवनले आज नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बादलले भदौ २३ र २४ गते देश र जनता विरूद्व रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले फागुन २१ को निर्वाचन अगाडि स्थापित दल र तिनका नेतालाई फसाएर मात्रै कार्कि सरकारले निर्वाचन गर्ने बताउनुभयो । त्यसका लागि विभिन्न षड्यन्त्रहरू रचिएको उहाँको दाबी छ । दलहरू यो षड्यन्त्र नबुझेर विभाजित बने देश विदेशीको सैनिक अखडा हुने भन्दै निर्वाचनको भुलभुलैया मात्रै भएको उहाँको भनाइ छ । प्रचण्ड र माधव नेपालसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी १० कोठे टहरो मात्रै भएको भन्दै त्यसले उनीहरूको ओरालो यात्रा नरोकिने नेता बादलले बताउनुभयो ।

उहाँले फागुन २१ को निर्वाचनमा नेकपा एमाले नपरेको र पर्नु नहुने पनि बताउनुभयो । सचिव छविलाल विश्वकर्माले जेनजी आन्दोलनमा आपराधिक गतिविधिमा संलग्नहरूलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे। जेलबाट भागेका कैदीहरूलाई नियन्त्रणमा लिने काम समेत सरकारले गर्न नसकेको भन्दै चुनावको वातावरण नै नबनेको जिकिर गर्नुभयो । अर्का सचिव लेखराज भट्ले पनि मुलुकको राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताका निमित्त एमाले सङ्घर्षमा आएको बताउनुभयो। कैलालीले पुगेका भट्टले देश र जनताको पक्षमा एमाले रहेको बताउनुभयो। उहाँले पूर्व प्रधानन्यायाधीश सुशीला कार्की संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको भन्दै असंवैधानिक भएको जिकिर गर्नूभयो। प्रतिनिधि सभा पुनर्स्थापना विकल्प नभएको बताउनुभयो । लमजुङ पुगेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि सरकारले फागुन २१ मा चुनाव नै नगराउने दाबी गरे। उनले अहिलेको समस्या समाधान गर्नको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको बताउनुभयो । गुल्मीमा पुगेकी नेतृ रामकुमारी झाँक्रीले जेनजी आन्दोलन संविधान विरुद्ध भएको जिकिर गर्नृुभयो । उहाँ भन्नुभयो, ‘भदौको २३ र २४ गतेको घटनालाई हामीले असाध्यै कहालीलाग्दो र जीवनमा, हाम्रो जीवनमा, हामी बाँचेको समयमा कहिल्यै नदेखिएको यस्तो घटनाको रूपमा लिएका छौँ। यो किन भयो ? यो कसको विरुद्ध थियो ? यो कुरा आज जेनजी विद्रोहको नाममा आफ्नो स्टेबल र दाबी गरिरहने सबै साथीहरूलाई, सबै मित्रहरूलाई म भुलभुलैयामा नपर्नको लागि अनुरोध गर्न चाहन्छु। यो यत्तिकै भएको चीज थिएन।’

उहाँले राष्ट्रियताको बारेमा शिर ठाडो पारेर अविचलित रूपमा सरकार अगाडि बढेपछि पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारविरुद्ध घेराबन्दी भएको बताउनुभयो । एमालेका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले पनि सरकारले फागुन २१ गते गर्ने भनेको चुनाव नहुने दाबी गर्नुभयो । ‘पहिले प्रतिगमन सच्चिनुपर्छ, प्रतिगमन सच्चिनलाई प्रतिनिधि सभाको पुनर्स्थापना हुनुपर्छ’ जैशीले भने ‘त्यसपछि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ, अनि मात्र ‘अर्ली’ निर्वाचनमा जान सकिन्छ ।’ सिन्धुलीले जिल्ला सदरमुकाम सिन्धुलीमाडीमा आयोजना गरेको बृहत र्यालीमा नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्ने बताउनुभएको छ । उक्त कार्यक्रमा सम्बोधन गर्दै नेता बस्नेतले जेनजीले उठाएको माग सम्बोधन गर्न संसद पुनस्थापना गरेर निर्वाचनमा जानु पर्ने बताउँदै शुशिला कार्की नेतृत्वको सरकार विघटन हुनुपर्ने बताउनुभएको हो । यस्तै उनले भाद्र २३ र २४ गतेको जेनजीको आन्दोलनमा भएको आगजनी र विध्वम्स आतंकवादी हमला भएको बताउनुभएको छ । उहाँले एमालेको आगामी महाधिवेशनबाट केपी ओली नै अध्यक्ष हुने ठोकुवा समेत गर्नुभयो ।नेकपा एमालेले आज देशका सबै जिल्ला सदरमुकामहरुमा संसद पुनस्थापना र संविधान रक्षाको माग गर्दै विरोध कार्यक्रमको आयोजना गरेको छ ।

 

प्रकाशित मिति: २९ कार्तिक २०८२, शनिबार  १९ : ३८  बजे