एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने

काठमाडौं, २८ कात्तिक । नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले हिजो प्रेस विज्ञप्ति निकाल्दै आउँदो मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरेको हो । उद्घाटन तथा शनिवारको खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ । अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ ।टिकट बिक्री खल्ती र आईएमई एपमार्फत हुने क्यानले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: २९ कार्तिक २०८२, शुक्रबार  ०७ : २३  बजे