विराटनगर, २६ कात्तिक । झापाको इलाका प्रहरी कार्यालय दमकमा तोडफोड, आगजनी तथा हातहतियार लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
भदौ २४ गतेको घटनामा साना–ठूला सवारीसाधनमा ढुंगामुढा, तोडफोड र प्रहरीका विभिन्न हातहतियार लुटपाट गरिएको थियो । घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार, इलामको चुलाचुली गाउँपालिका–३, पेल्टीमारीका १९ वर्षीय सुजल राई र दमक नगरपालिका–७ का १९ वर्षीय गणेश शर्मा हातहतियार लुटपाट प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ परेका छन् । उनीहरूविरुद्ध हातहतियार खरखजना, चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
यस्तै, कार्यालयमा ढुंगामुढा, तोडफोड र आगजनी गर्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–५ का साजन लुहागुन, दमक–३ का रियाज सिलवाल, इलाम चुलाचुली–३ का नकुल अधिकारी, दमक–१ का दिपचन महतो र दमक–६ का लोमस कटुवाल पक्राउ परेका छन् । उनीहरूविरुद्ध आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी सुरक्षा बेस क्याम्पमा सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको एसएलआर राइफल लुटपाटमा संलग्न पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का स्थायी बासिन्दा र दमक–३ बस्ने १७ वर्षीय आदित्य लिम्बु पक्राउ परेका छन् । उनीहरूलाई हातहतियार खरखजना ऐनअन्तर्गत थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ र अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी छ ।








प्रतिक्रिया