विराटनगर । कोशी प्रदेशसभाको सचिव पदमा सुदर्शन खड्का नियुक्त भएका छन् । उनको शपथ ग्रहण आज दिउँसो ३ बजेका लागि तय गरिएको छ । सङ्घीय संसद् सचिवालयको सचिवबाट स्वेच्छिक अवकाश लिएका खड्कालाई सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियुक्त गरेका हुन् ।
सचिवमा नियुक्त भएका खड्का भक्तपुरको चाँगुनारायण नगरपालिका–४ निवासी हुन् । ५६ वर्षीय उनी २०७७ साल जेठ ३० गतेदेखि २०८२ साल जेठ २१ गतेसम्म सङ्घीय संसद् सचिवालयमा सचिवका रूपमा कार्यरत थिए । सङ्घीय संसद्को महासचिवमा भरतराज गौतम नियुक्त भएपछि रिक्त भएको पदमा उनी बढुवा भएका थिए । नवनियुक्त सचिव खड्कासँग सङ्घीय संसदमा लामो समय काम गरेको अनुभव छ ।
उनी २०५१ साल चैतमा शाखा अधिकृतको रूपमा सङ्घीय संसद् सेवामा प्रवेश गरेका थिए । त्यसपछि क्रमशः २०५९ मा उपसचिव, २०६७ मा सहसचिव हुँदै २०७७ मा सचिवमा बढुवा भएका थिए । खड्काले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर र शिक्षाशास्त्रमा स्नातक (एक वर्षे बीएड) गरेका छन् ।
खड्काले भारत, श्रीलङ्का,जर्मनी, अमेरिका, चीन, थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङकङलगायत देश भ्रमण गरेका छन् । प्रदेशसभाका सचिव पराजुली भ्रष्टाचारी ठहर भएर स्वतः पदमुक्त भए पनि सचिव नियुक्त हुन सकेको थिए । पराजुलीलाई केहि समय अगाडि प्रदेशसभाले बिदाइ गरेको थियो ।








प्रतिक्रिया