काठमाडौँ, २५ कात्तिक । सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । महानिरीक्षक अर्यालको भ्रमण टोलीमा सीमा सुरक्षा विभाग प्रमुख गणेशबहादुर ठाडा मगर, प्रहरी नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधिलगायत सहभागी रहनुभएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । सो बैठक यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा हुँदैछ ।
बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार नियन्त्रण, अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदानप्रदान र सीमा सुरक्षालाई थप सुरक्षित बनाउन समन्वय र सहकार्य गर्ने विषयमा दुई सुरक्षा निकायबीच छलफल हुनेछ । नेपाल–भारतबीच नियमित रूपमा हुँदै आएको समन्वयात्मक बैठकले दुवै देशको सीमा क्षेत्रमा शान्ति, सुरक्षा सुदृढीकरण, आपसी समन्वय र सहकार्यमा सहयोग पुग्ने विश्वास गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नुहुने सशस्त्र प्रहरीले जनाएको छ ।








प्रतिक्रिया